कोप–३१ मा नेपालको आफ्नै पेभेलियन, जलवायु सङ्कट र न्यायका मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै
कोप–३१ मा नेपालको आफ्नै पेभेलियन, जलवायु सङ्कट र न्यायका मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै
    • बेल संचार

    • २७ कार्तिक २०८३, शुक्रबार

काठमाडौं ।

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका विपद्, त्यसबाट प्रभावित समुदायका समस्या र अनुकूलनका प्रयासलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्‍याउन टर्किएमा जारी कोप–३१ मा स्थापना गरिएको ‘नेपाल पेभेलियन’ प्रभावकारी मञ्च बनेको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालले छुट्टै पेभेलियन सञ्चालन गरी जलवायु सङ्कट, जलवायु न्याय, विपद् जोखिम न्यूनीकरण तथा अनुकूलनका सफल अभ्यासबारे विभिन्न कार्यक्रम गरिरहेको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार पछिल्लो समय भोटेकोसीलगायतका क्षेत्रमा जलवायुजन्य विपद्ले पुर्‍याएको क्षति र त्यसबाट उत्पन्न चुनौतीलाई विश्व समुदायसमक्ष प्रस्तुत गर्न छुट्टै पेभेलियन स्थापना गरिएको हो ।

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका अनुसन्धान अधिकृत तथा नेपाल पेभेलियनका सम्पर्क व्यक्ति प्रकाश लामिछानेका अनुसार सम्मेलनका साइड इभेन्टबाट मात्र नेपालको अनुभव, समस्या र जलवायु अनुकूलनका प्रयास पर्याप्त रूपमा प्रस्तुत गर्न कठिन हुने देखिएपछि आफ्नै पेभेलियन सञ्चालन गर्ने अवधारणा अघि बढाइएको थियो ।

पेभेलियन स्थापनाका क्रममा आर्थिक स्रोत जुटाउनु मुख्य चुनौती बनेको थियो । यसको स्थान भाडामा लिन मात्रै करिब डेढ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थियो । सरकारी स्रोतबाट तत्काल उक्त रकम व्यवस्थापन गर्न कठिन भएपछि नेपालले टर्किए सरकारसँग सहयोगका लागि पहल गरेको थियो ।

नेपालको अनुरोधपछि टर्किए सरकारले डेढ करोड रुपैयाँ बराबरको पेभेलियनस्थल निःशुल्क उपलब्ध गराएको लामिछानेले जानकारी दिए । ४८ वर्गमिटर क्षेत्रफलमा फैलिएको पेभेलियनमा कार्यालय प्रयोजनका लागि छुट्टै कोठा र करिब ३० जना सहभागी अट्ने क्षमताको कार्यक्रमस्थल बनाइएको छ ।

स्थान उपलब्ध भए पनि पेभेलियनको सजावट र आवश्यक पूर्वाधार व्यवस्थापन अर्को चुनौती थियो । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि र सम्मेलन आयोजक समितिको व्यवस्थापनमार्फत सजावट गर्दा करिब एक लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको थियो ।

उक्त खर्च धान्न कठिन भएपछि नेपाली टोलीले अन्ताल्याका स्थानीय बजारबाट कुर्सी, टेबललगायत आवश्यक सामग्री खरिद गरी पेभेलियन तयार पारेको थियो । यसबाट अनुमानित खर्चको तुलनामा करिब ६० प्रतिशत लागतमा व्यवस्थापन गर्न सफल भएको लामिछानेले बताए । यस कार्यमा विकास साझेदार तथा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत विभिन्न संस्थाले सहयोग गरेका थिए ।

पेभेलियनको औपचारिक उद्घाटन नोभेम्बर ९ मा गरिएको थियो । त्यसको तयारीका लागि नेपाली टोली नोभेम्बर ३ देखि नै अन्ताल्यामा खटिएको थियो । सामग्री ढुवानी, जडान, प्राविधिक व्यवस्थापन तथा भाषागत कठिनाइका बाबजुद तयारी पूरा गरिएको लामिछानेले बताए ।

सम्मेलन अवधिभर नेपाल पेभेलियनमा दैनिक चारदेखि छवटासम्म कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ । यसका लागि ४७ देखि ४८ वटा कार्यक्रम तय गरिएका छन् । कार्यक्रममा जलवायु सङ्कट, हिमाली क्षेत्रका समस्या, विपद् जोखिम, जलवायु वित्त, अनुकूलनका उपाय तथा जलवायु न्यायका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञ, नीति निर्माता तथा सरोकारवालाबीच छलफल भइरहेको छ ।

लामिछानेका अनुसार पेभेलियन नेपालको अनुभव र समस्या प्रस्तुत गर्ने थलो मात्र नभई जलवायु परिवर्तनबाट बढी प्रभावित मुलुकका रूपमा नेपालले भोगिरहेका चुनौती र अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारीबारे आवाज उठाउने साझा मञ्च पनि बनेको छ ।

नेपालले जलवायु परिवर्तनका असर न्यूनीकरण, प्रभावित समुदायको संरक्षण र अनुकूलनका क्षेत्रमा गरिरहेका प्रयासलाई अन्तर्राष्ट्रिय बहससँग जोड्न पेभेलियनले महत्त्वपूर्ण अवसर प्रदान गरेको मन्त्रालयको विश्वास छ ।

साताकाे चर्चित
सम्बन्धित