बजेट प्रतिस्थापन विधेयक जनताप्रति समर्पित छ : मन्त्री भुसाल
बजेट प्रतिस्थापन विधेयक जनताप्रति समर्पित छ : मन्त्री भुसाल

गरिब, विपन्न जनतालाई राहत दिने उद्देश्यले आफूले मासिक २० युनिट बिजुली खपत गर्ने परिवारलाई निःशुल्क उज्यालो दिने निर्णय

    • Bell Sanchar

    • २६ भाद्र २०७८, शनिबार

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिनिधिसभामा पेश गरेको बजेट प्रतिस्थापन विधेयक जनताप्रति समर्पित रहेको बताएकी छन् ।

किरात याक्थुङ चुम्लुङ, जिल्ला कार्यसमिति ललितपुरले शनिबार गरेको कार्यक्रममा उनले बजेटले आन्दोलनमा त्याग गरेका व्यक्तिका परिवारलाई सम्मान र राहत व्यवस्था गरेको र कोरोनाबाट सङ्कटमा परेका नागरिकलाई राहत, बेरोजगारलाई रोजगारी दिने योजना र आर्थिक तथा भौतिक विकासलाई जोड दिएको धारणा राखिन् ।

मन्त्री भुसालले गरिब, विपन्न जनतालाई राहत दिने उद्देश्यले आफूले मासिक २० युनिट बिजुली खपत गर्ने परिवारलाई निःशुल्क उज्यालो दिने निर्णय गरेको पनि बताइन् ।

उनले स्वदेशमै उत्पादन भएको विद्युत्को खपत बढाउन तथा खाना पकाउने एलपी ग्यासको आयातबाट हुने व्यपार घाटा न्यूनीकरण गर्न आफूले विद्युत् महसुल घटाएको पनि बताइन् । ‘अहिले जसले बढी बिजुली बाल्यो, उसले बढी महसुल तिर्नु परेको अवस्था छ, विद्युत् नियमन आयोगले निर्णय गरेपछि लागू हुन्छ’ उनले भनिन् ।

जातीय सामाजिक संस्था ‘किरात याक्थुङ चुम्लुङ’ को ३३ वर्षअघि स्थापना भएको हो । यस संस्थाको देशका नौ जिल्लामा र किरात जाति रहेका विश्वका १९ देशमा यस संस्था क्रियाशील छ । सो अवसरमा संस्थाका केन्द्रीय अध्यक्ष योगराज बानेमले नेपाल जातीय रङ्गीनता रहेको उल्लेख गर्दै यसको संरक्षणका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

साताकाे चर्चित
सम्बन्धित