कतार विश्वकप मेरा लागि अन्तिम हुनसक्छ : नेइमार
कतार विश्वकप मेरा लागि अन्तिम हुनसक्छ : नेइमार
    • Bell Sanchar

    • २६ आश्विन २०७८, मंगलवार

ब्राजिलका फुटबल स्टार नेयमारले कतारमा हुने विश्वकप फुटबल आफ्नो अन्तिम विश्वकप हुन सक्ने बताएका छन् ।

२९ वर्षका नेयमारले मानसिक पक्षको कारण आफ्ना लागि कतार विश्वकप अन्तिम हुन सक्ने बताएका हुन् । यद्यपि शारीरिक हिसाबमा भने आफू अझै पनि सबल रहेको उनको भनाइ छ ।

भिडियो स्ट्रिमिङ सर्भिस डीएजेएनलाई दिएको अन्तर्वार्तामा उनले भने, ‘मलाई २०२२ को कतार विश्वको मेरो अन्तिम विश्वकप हो कि जस्तो लाग्छ । किनकी त्यसपछि पनि फुटबल खेल्न मसँग मानसिक क्षमता हुन्छ कि हुँदैन भन्ने थाहा छैन ।’

कतार विश्वकपबारे उनले अघि भनेका छन्, ‘राम्रो लयमा रहन, देशलाई जिताउन र आफू सानो हुँदादेखिको सपना पूरा गर्न सबै प्रयास गर्नेछु र मलाई यो पूरा गर्न सक्छु जस्तो लाग्छ ।’

कुराकानीका क्रममा नेइमारले सन् २०१४ को विश्वकपमा आफ्नो ढाडमा चोट लागेको घटना पनि सम्झिए । ‘यो मेरो जीवनको सबभन्दा खराब घटनामध्ये एक हो । यसले मेरो विश्वकप खेल्ने सपना ध्वस्त पार्‍यो, सेमिफाइनल, फाइनल खेल्नका लागि म एक पाइला पनि अघि बढ्न सकिनँ । म अनियन्त्रित भएर रोएको थिएँ’, उनले सम्झिए ।

‘उनीहरुले मलाई अस्पताल लगेका थिए । डक्टरले मलाई हेरेर भने – मसँग दुईटा समाचार छ, एउटा खुसीको र अर्को दुःखको । तपाईँ पहिला के सुन्न चाहनुहुन्छ ? मैले भने मलाई खराब समाचार सुनाउनुहोस्’, नेइमार भन्छन्, ‘उनले भने– तपाईं विश्वकपबाट बाहिरिनुभएको छ । रुँदै मैले सोधेँ, खुसीको समाचार के हो ? उनले भने–यदि यो चोट दुई सेन्टिमिटर साइडमा हुन्थ्यो भने तपाईं पुनः हिँड्न सक्नुहुन्नथ्यो ।’

साताकाे चर्चित
सम्बन्धित